प्रहरीले नेपाली एटीएमबाट अनाधिकृत रकम झिक्ने चिनियाँ ह्याकर समूहका नाईके खोज्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग

0
54

प्रहरीले नेपाली एटीएमबाट अनाधिकृत रकम झिक्ने चिनियाँ ह्याकर समूहका नाईके खोज्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग लिने भएको छ। प्रहरीले पक्राउ गरेका ५ चिनियाँ र एक फ्रान्सेलीसहित फरार दुई जनाको विवरण इन्टरपोललाई उपलब्ध गराउँदै मुख्य योजनाकार खोज्ने तयारी भएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले आइतबार नेपालखबरसँगको कुराकानीमा नेपालमा पक्राउ परेका र फरार आरोपी अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको खुलेको बताए। उनले नेपाल आएका आठैजना अज्ञात स्थलमा बसेका ब्यक्तिको निर्देशनमा काम गरिरहेको प्रारम्भीक अनुसन्धानले देखाएको बताए।

‘हामी अन्तर्राष्ट्रिय गिरोहका नाईकेको पहिचान खुलाउने प्रयासमा छौं,’ एसएसपी सुवेदीले भने ‘यसका लागि इन्टरपोलसँग समेत सहकार्य हुनेछ।’ उनका अनुसार इन्टरपोलमा पक्राउ परेकाहरुको विवरण पठाएर उनीहरुका बिषयमा थप खुलाउने प्रयास भइरहेको हो।

‘नेपालमा आएका ब्यक्तिहरुको अन्तर्राष्ट्रिय गिरोहसँगको सम्पर्क सुत्र पत्ता लगाउने पहिलो प्राथमिकतमा हो,’ एसएसपी सुवेदीले भने ‘नेपालमा के कमजोरीका कारण घटना भयो त्यो समेत हाम्रा विज्ञले हेरिरहेका छन्।’

नेपालको बैकिंङ सुरक्षा प्रणालीलाई चुनौती दिँदै सात चिनियाँ र एकजना फ्रान्सेली नागरिकले भदौ १४ मा करिब १० घण्टासम्म काठमाडौंका एटीएमबाट करिब दुई करोड रकम झिकेका थिए। उनीहरुलाई सघाउने नेपाली ब्यक्तिको पहिचान भएपनि प्रहरीले पक्राउ गर्न सकेको छैन।

प्रहरी अनुसन्धानमा ४–४ जनाको समुहमा एकैपटक चीनबाट आएका उनीहरुमध्ये एउटा समुहलाई विमानस्थलदेखि होटल बुटिक मनोहर मायासम्म छोड्न निजी नम्बर प्लेटको गाडी प्रयोग भएको खुलेको छ। चीनबाट भदौ १३ को अपरान्ह साढे दुईबजे विमानस्थल ओर्लिएका उनीहरुले बाहिर आएर एउटा टोलीले ट्याक्सी र अर्कोलाई लिन निजी कार आएको थियो। यस्तै प्रहरीले कारबाही थालेपछि भागेका तीनजनाले ठमेलका दुई मनि चेञ्जरबाट पूर्व परिचयकै आधारमा ३० लाख बढी नेपाली रुपैयाँ सटही गरेको खुलेको छ।

परिसर काठमाडौंको टोलीले दरबारमार्गबाट एकजना र अन्य चारजनालाई होटलबाट पक्राउ गरेको थियो। सोहीक्रममा होटलमा रहेका तीनजना त्यहाँबाट भाग्न सफल भएका थिए।

नीहरु होटलबाट भागेर सिधै ठमेलस्थित ठमेल किचन बाहिर ओर्लिएका थिए। त्यहाँ उनीहरुमध्ये एकजनाले स्याण्डविच खाएको सीसीटीभी फुटेजमा देखिएको छ। त्यसपछि उनीहरु वरपर रहेका मनि चेञ्जरमा नपसी सिधै डेक्सी मनि चेञ्जरमा पुगेका थिए। मनि चेञ्जर सञ्चालकले त्यही पैसा गन्ने मेसिन मगाएर रकम गनेर डलर उपलब्ध गराएका थिए। यसक्रममा विमानस्थलबाट पक्राउ परेका फ्रान्सको राहदानी बाहक छु लुस लीले बाहिरको रेकी गरेका थिए। प्रहरी कारबाही सुरु भएपछि भागेका तीनजनामध्ये लुस ली विमानस्थलबाट भदौ १५ मा पक्राउ परेका थिए। अन्य दुई फरार छन्।

‘फरारको खोजीका लागि समेत विशेष संयन्त्रले काम गरिरहेको छ,’ एसएसपी सुवेदीले भने ‘उनीहरु नेपालमै छन् कि विदेश भागिसके खुल्न सकेको छैन।’

दोभाषेको सहयोगमा निरन्तर बयान

प्रहरीले नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा शनिबार पक्राउ पर्ने पाँच र विमानस्थलबाट पक्राउ परेका ब्यक्तिले प्रहरीसँग पछिल्लो २३ दिनदेखि निरन्तर बयान लिइरहेको छ। प्रहरीले एटीएम ह्याकिङमा संकलन गरेका तथ्यका आधारमा दोभाषेको सहयोगमा बयान लिइरहेको हो। प्रहरीसँग केही बताउन नचाहेपनि प्रहरीले संकलन गरेका तथ्यपछि भने उनीहरुले त्यसको पुष्टि गरिरहेका छन्।

प्रहरीले हिरासतमा लिएका चिनियाँ नागरिकहरू क्रमशः चेन बिन बिन, झु लियाङ आङ, क्वियु युङक्विङ, लुओ जिआल्बी र लिन बिनमेङ र लुुस लीसँग बयान लिइरहेको हो।
यस्तै परिसरको विशेष टोलीले ठमेलमा रहेको डेक्सो मनि चेञ्जर र नेपालय मनि चेञ्जरका संचालक र म्यानेजरलाई हिरासतमा राखेको छ। दुबै मनि चेञ्जरले अनाधिकृत रुपमा चारजना चिनियाँलाई २८ हजार ८ सय ६२ अमेरिकी डलर सटही गरिदिएका थिए।

नेपाली रुपैयाँ सस्तोमा किनेर महंगोमा डलर बेच्ने डेक्सोका सञ्चालक वेदनाथ लामिछाने र नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा प्रत्यक्ष संलग्न रहेका नेपाललयका प्रबन्धक रेवती दवाडी समेत प्रहरी हिरासतमा छन्।

६० दिन हिरासतमा राख्ने

प्रहरीले बैकिंङ कसुरमा म्याद थपेका ६ विदेशी र ३ नेपाली नागरिकलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान निश्कर्षमा पु-याउने जनाएको छ। बैंकिङ कसुरमा ६० दिन न्यायिक हिरासतमा राख्ने अधिकार प्रहरीलाई हुन्छ।

एसएसपी सुवेदीले मुद्दा बुझाउन प्रमाण पुगेपनि मुख्य नाईके र नेपाली सहयोगीको खोजीका लागि पुरै म्याद हिरासतमा राख्ने तयारी रहेको बताए।

‘मुद्दामा यथेष्ट प्रमाण संकलन भै सकेको छ,’ उनले भने ‘हामी अनुसन्धानलाई अझै बृहत र माथिल्लो तहसम्म पुर्याउने छौं।’

LEAVE A REPLY